नेपालगञ्ज- बाढीपीडित ४ सय २५ परिवारलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले करिब ४० लाख बराबरको राहत सामग्रीहरु वितरण गरेको छ। विस्थापित भई आफन्त तथा नजिकैको जंगलमा कष्टपूर्ण अवस्थामा बस्दै आएका बाँकेको राप्ती सोनारीस्थित फत्तेपुर र बिनौनाका पीडितलाई राहत सामग्री दिइएको हो।
ग्लोबल मेडिक र मुस्लिम एडको सहयोगमा पीडितलाई त्रिपाल, झुल, कम्बल, साबुन, खाना पकाउने भाडाहरु सहितका सामग्रीहरु वितरण गरिएको हो।
जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरेर बाँके जिल्लाका गैर सरकारी संघसंस्थाले ४ सय २५ परिवारलाई वितरण गरिएको आरआरएनका क्षेत्रीय संयोजक विकास चौधरीले बताए।
करिब ६ सय ५० परिवार विस्थापित भई जंगलको किनारामा टहरा बनाएर बस्दै आएका छन्। झुल, कम्बल र त्रिपाल जस्ता सामग्रीले बाढी प्रभावितहरुको जीवन केही सहज हुने राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुले बताए।
यो वर्ष आएको बाढीबाट बाँकेका १ हजार ३ सय घरमा पूर्ण रुपमा क्षति पुगेको छ। ६ हजार १ सय १६ विस्थापित भई बस्ती नजिकको जंगलमा बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।