चेल्सी भर्सेस आयाक्स : तनावपूर्ण ११ मिनेटमा ३ गोल, २ रेड कार्ड

नेपाल लाइभ | २०७६ कार्तिक २० बुधबार | Wednesday, November 06, 2019 ०९:५०:०० मा प्रकाशित

काठमाडौं- ३ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै च्याम्पियन्स लिगअन्तर्गत चेल्सीले ९ खेलाडीमा सीमित आयाक्सलाई बराबरीमा रोकेको छ।

तनावपूर्ण खेलमा आयाक्सलाई चेल्सीले ४-४ को बराबरीमा रोकेको हो। दोस्रो हाफको ६३ मिनेटपछि ११ मिनेटभित्र चेल्सीले ३ गोल गर्दा आयाक्सका २ खेलाडी दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए।

खेलमा सुरुवाती अग्रता भने आयाक्सले लिएको थियो। दोस्रो मिनेटमा आयाक्सका क्विन्सी प्रोम्सको फ्रि-किक बल चेल्सीका टामी अब्राहमको खुट्टामा लाग्दा गोलको दिशा लिएको थियो।

पहिलो गोल उपहार दिएको चेल्सीले २ मिनेटपछि नै खेलमा फर्कियो र बराबरी गोल गर्‍यो। क्रिस्टियन पुलिसिकले फउल गरेपछि प्राप्त पेनाल्टीमा चेल्सीका जोर्गिनोले सहज गोल गरेका थिए।

खेलको २०औं मिनेटमा हकिम जियचको क्रसमा प्रोम्सको हेड बलले जाली चुमेको थियो। 'टाइट एंगल'बाट प्रोम्सले हानेको फ्रिकिक बल बारमा लागेर रिबाउन्ड हुँदा चेल्सीका गोलकिपर किपा अरिजाबागालाको अनुहारमा लाग्दै गोलमा परिणत भएको थियो।

दोस्रो हाफको ५५औं मिनेटमा भान डि बेकले १२ यार्डबाट प्रहार गरेको 'क्लोज सट' गोलमा परिणत भएको थियो। ३ गोलले पछि परेको चेल्सीका लागि केसर अज्प्लिकुयटाले ६३ मिनेटमा एक गोल थपेपछि गोल अन्तर आधामा झरेको थियो।

खेलले ६८औं मिनेटमा नाटकीय मोड लियो। केहीबेर तनावपूर्ण बनेको खेलमा एक मिनेटको अन्तरमा आयाक्सका ब्लाइन्ड र भेल्टम्यानले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे।

अन्तिम २० मिनेट ९ खेलाडीमा सीमित आयाक्समाथि चेल्सीले दबाब बढाएको थियो। ७१औं मिनेटमा जोर्गिनोले पुनः पेनाल्टीमार्फत अर्को गोल थपे। ३ मिनेटपछि कुर्ट जुमाको प्रहार आयाक्सको गोलपोष्टमा लागेर फर्कियो। उक्त 'रिबाउन्ड बल'लाई सब्टिच्युट खेलाडी रिस जेम्सले सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए।

जेम्स च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी समेत बनेका छन्। उनी १९ वर्षका भए।

खेलको मध्यपछि पाहुना टोली आयाक्सले लय गुमाउँदा चेल्सी खेलमा फर्किएको थियो।

जितसँगै आयाक्स ग्रुप 'एच'को शीर्ष स्थानमा उक्लिएको छ। समान ७ अंक रहे पनि चेल्सी दोस्रो स्थानमा झर्दा भ्यालेन्सिया तेस्रो स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नाउमा बार्सिलोना साल्भिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको हो।

अन्य खेलहरुमा आरबी लिपजिग, लिभरपुल, बोरुसिया डर्टमुन्ड, लियोन र भ्यालेन्सिया विजयी भए। नापोली र आरबी साल्जवर्गले १-१ को बराबरी खेले।