क्यानबेरा- स्टेभेन स्मिथले अविजित ८० रनको पारी खेलेपछि अष्ट्रेलिया पाकिस्तानविरुद्धको दोस्रो टी-२० क्रिकेटमा विजयी भएको छ। १ सय ५१ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ बल अगावै ७ विकेटको जित निकालेको हो।
क्यानबेरामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५० रनको योगफल खडा गरेको थियो। पाकिस्तानका इफ्तिखर अहमदले अविजित ६२ तथा कप्तान बाबर आजमले ५० रन बनाए। अष्ट्रेलियाका अश्टोन अगरले २ विकेट लिए।
अष्ट्रेलियाका स्मिथले ५१ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८० रन जोडेपछि अष्ट्रेलियाले पाकिस्तानले दिएको मध्यम लक्ष्य भेट्याएको थियो।
जितसँगै शृंखलामा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ। सिड्नीमा भएको शृंखलाको पहिलो खेलमा वर्षाका कारण नतिजा निस्किएको थिएन।
तेस्रो खेल शुक्रबार पर्थमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।