नेल्सन- घरेलु टोली न्युजिल्यान्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी-२० क्रिकेट प्रतियोगितामा भ्रमणकारी इङ्ल्यान्डलाई १४ रनले पराजित गरेको छ।
पाँच खेलको यस शृंखलामा जितसँगै न्युजिल्यान्डले २–१ ले अग्रता लिएको छ।
न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो। टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गुप्तिलको ३३, रोस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो।
जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले राम्रो सुरुआत गरे पनि अन्तिम ५ विकेट १० रन जोड्दा नै गुमाएको थियो। पन्ध्रौं ओभरमा १ सय ३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ल्यान्डको टोली त्यसपछि नाटकीय रुपमा पतन भएको थियो।
इङ्ल्यान्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए। इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन मात्र बनाएको थियो।
हारपछि प्रतिक्रिया दिँदै इङ्ल्यान्ड टोलीका कप्तान इयोन मोर्गानले आफ्नो टोलीका नयाँ सदस्यहरुमा अनुभवको कमी देखिएको बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।