अमेरिकामा घातक सुई लगाएर मृत्युदण्ड

नेपाल लाइभ | २०७६ कार्तिक २० बुधबार | Wednesday, November 06, 2019 ०६:४५:०० मा प्रकाशित

वासिङ्टन- अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ।

अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चार्ल्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले बताएका छन्।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदूरको हत्या गरेको पुष्टि भएको थियो। उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए। राइन्सका वकिलहरुले भने समलिङ्गी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको दावी गर्दै आएका थिए।

तर, साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरे। रासस/एएफपी