मेक्सिको- एक दशकअघि गएको शक्तशाली भूकम्पमा दिवंगतहरुको सम्झना गरिरहेका थिए मेक्सिकोवासी। सेप्टेम्बर १९, १९८५ को भूकम्पमा १० हजार मानिसले ज्यान गुमाएका थिए। उनीहरुको स्मृति कार्यक्रम सकिएको १ घन्टापछि एक दशकअघिकै भूकम्प सम्झाउने गरी मेक्सिकोमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पबाट मेक्सिकोका सहर प्युबेला, मोरेलोस र राजनधानी मेक्सिको सिटीमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। हालको भूकम्पको गहिराइ ५१ किलोमिटर रहेको भूगोलविदहरुले जनाएका छन्। '७० किलोमिटर मुनिबाट आएको ऊर्जा सबैभन्दा खतरनाक हुन्छ। यसले धेरै क्षति पुर्याउँछ,' भूगोलविद एलिसन चिन्सले भने, 'मेक्सिकोको भूकम्प निकै शक्तिशाली हो।'
मेक्सिकोका मेयर एन्जेल म्यानकरका अनुसार राजधानीमा मात्रै ४४ वटा भवनमा पूर्ण रुपमा क्षति पुगेको छ। एक साताअघि मात्रै मेक्सिकोमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा ९८ जनाले ज्यान गुमाएका थिए।
१ सय ३९ को निधन, मृतककाे संख्या बढ्न सक्ने
भूकम्पमा परी मोरिलोसमा ५५ जनाको मृत्यु भएको छ भने प्युबेलामा ३२ जनाले ज्यान गुमाएका छन्। यस्तै राजधानी मेक्सिको सिटीमा ४९ र अन्य सहरमा १३ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। विपतपछि २० लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् भने फोन सम्पर्क विच्छेद छ। राजधानी मेक्सिको सिटी सबैभन्दा बढी जनघनत्व भएको सहरमा पर्छ जहाँ करिब २ करोड मानिसको बसोबास रहेको छ।
जमिनमा बारम्बार भूकम्पको धक्का गएपछि मेक्सिकोका बासिन्दा त्रसित छन्। 'हामीसँग भगवान् रिसाएका छन् र यो नियति भोग्न विवश बनाएका छन्। अझै कति भोग्नुपर्ने हो,' ६ तले घरबाट सडकमा आएर ज्यान बचाएका जर्ज अर्टिजले भने।
ज्यान जोगाएका कतिपय मानिस आफ्नो ज्यान जोगिएकोमा अचम्ममा परेका छन्। ' म विश्वास नै गर्न सक्दिन कि मेरो ज्यान बच्यो,' भग्नावशेषमा च्यापिएको आधा घन्टापछि उद्धार गरिएकी टेलिया हर्नानडिजले भनिन्। भूकम्पको धक्का जाँदा उनी ट्याटुको कक्षा लिइरहेकी थिइन्। उनको दाहिने खुट्टामा गम्भीर चोट छ।
ज्यान बचाउन सडकमा आए पनि मेक्सिकोवासी अझै निर्धक्क छैनन्। उनीहरुलाई ग्यास पाइपलाइन विस्फोट हुने हो कि भन्ने चिन्ता छ। सम्भावित विस्फोटलाई मध्यनजर गर्दै मेक्सिको सरकारले उच्च सर्तकता अपनाएको छ। लिक भएको ग्यास हावामा फैलिइसकेको छ। मेक्सिको सरकारले सडकमा धुम्रपान नगर्न नागरिकलाई आग्रह गरेको छ।
मेक्सिकोमा कहिले कति भूकम्प गयो?
मेक्सिकोमा सन् १७७६ मा पहिलोपटक भूकम्प गएको थियो। त्यसयता विभिन्न सहरलाई केन्द्रविन्दु बनाउँदै ६५ वटा भूकम्पको धक्का मेक्सिकोले भोगेको छ। ६ वटा धक्का ८ म्याग्निच्युडका छन् भने अधिकांश धक्का ५० धक्का ७ म्याग्निच्युड माथिका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।