एजेन्सी- इस्लामिक स्टेट (आइएस)का पूर्वप्रमुख अबु बक्र अल बग्दादीकी जेठी दिदीलाई उत्तरी सिरियामा टर्की सेनाले गिरफ्तार गरेको छ।
बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सिरियाको अजाज सहरमा गिरफ्तार गरिएको टर्की सरकारले दावी गरेको हो। उनी त्यहाँ आफ्ना परिवारसँग बस्दै आएकी थिइन्। उनको पक्राउसँगै आइएससँग सम्बन्धित महत्वपूर्ण जानकारी बाहिरिन सक्ने टर्कीका एक अधिकारीले बताए। 'उनीबाट बग्दादीको जीवन र इस्लामिक स्टेटका बारेमा केही जानकारी मिल्न सक्नेछ,' उनले भने।
बग्दादीका ५ भाइ र केही बहिनी रहेको बताइँदै आएको छ। तर, उनीहरुमध्ये कति जीवित छन् भन्ने बारेमा भने यथेष्ट प्रमाण कसैसँग नरहेको बिबिसीले लेखेको छ।
कहाँबाट गरियो गिरफ्तार?
बग्दादीकी दिदीलाई सिरियाको अलेप्पो प्रान्तमा गिरफ्तार गरिएको हो, जुन स्थल एक महिनायता टर्कीको नियन्त्रणमा छ। यस क्षेत्रलाई इस्लामिक स्टेटका सदस्यका आफन्त बस्ने क्षेत्र भनि चिनिन्छ।
अबु बक्र अल बग्दादी।
अवाद आफ्ना पति, बुहारी र पाँच बच्चाका साथ बस्दै आएकी थिइन्। हडसन इन्स्टिच्युटका आतङ्कवाद विरोधी विशेषज्ञ माइक प्रेगेन्टका अनुसार उनलाई बग्दादीसँग सम्बन्धित समूहको बारेमा र उनीहरुले प्रयोग गर्ने गोप्य सडकका बारेमा जानकारी हुनसक्छ।
आत्मघाती विष्फोटमा मारिएका थिए बग्दादी
यसैसाता बग्दादीको अमेरिकी आक्रमणमा सिरियामा मृत्यु भएको थियो। अमेरिकी आक्रमणको चाल पाएपछि उनले आत्मघाती विष्फोट गराउँदा उनीसहित केही आतंकवादी मारिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए।
राष्ट्रपति ट्रम्पका अनुसार बग्दादी माथिको अपरेसनमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको दावी गरेका थिए। उक्त अपरेसनबाट आइएससम्बन्धी धेरै गोप्य जानकारीसमेत हात परेको उनको भनाइ थियो।
अमेरिकी सेनाले स्थल तथा हवाई कारबाही गर्नुअघि आत्मसमर्पणका लागि गरेको अपिलको बेवास्ता गर्दै बग्दादीले आत्मघाती बम विस्फोट गराएका थिए, जसमा उनीसहित दुई बालबालिकाको मृत्यु भएको अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियो फुटेजमा देख्न सकिन्छ।
भिडियोः बिबिसी
ट्रम्पका अनुसार बग्दादीको मृत्युको पुष्टिका लागि डिएनए परीक्षण गरिएको थियो।
बग्दादीको मृत्युपश्चात् इब्राहिम अल-हासमी अल-कुरैशीलाई आइएसको नयाँ नेतामा नियुक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।