काठमाडौं– च्याम्पियन्स लिगमा समूह चरण अन्तर्गत आज आठ खेल हुँदै छन्। जसमा बार्सिलोना र स्लाभिया प्राहादेखि लिभरपुल र जेन्क साथै बोरुसिया डर्टमुन्डदेखि इन्टर मिलानसम्मका खेल हुँदैछन्।
चौथो चरणमा हुने खेलमा नेपाली समय अनुसार ११ः४० मा समूह ‘एफ’ अन्तर्गत स्पेनिस क्लब बार्सिलोना चेक फुटबल क्लब स्लाभिया प्राहाबीच बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा खेल हुँदैछ। बार्सिलोनाका स्यामुअल उमटिटी र उसमान डेम्बेले टिममा फर्किएका छन् भने लुइस स्वारेज र आर्थर मेलो भने चोटका कारण टिमबाहिर छन्।
शनिबार ला लिगामा लेभान्टेसँग हारेको बार्सिलोना दबाबमा देखिएको छ। लुइस स्वारेज घाइते रहनाले फरवार्ड लाइन कस्तो हुने भन्ने निक्यौल देखिएको छैन। लेभान्टेविरुद्ध स्वारेज बाहिरिएपछि सेन्टर फरवार्डमा मेस्सीलाई खेलाउँदा बार्सिलोनाको अट्याक कमजोर बनेको थियो।
समूह ‘एफ’ अन्तर्गत नै राति पौने दुई बजे जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इटालियन क्बल इन्टर मिलानबीच खेल हुँदैछ। समूहमा तीन खेलमा दुई जित र एक बराबरी खेलेको बार्सिलोना ७ अंकसहित शीर्ष स्थानमा छ। इन्टर मिलान र बोरुसिया डर्टमुन्डको चार–चार साथै स्लाभिया प्राहाको एक अंक छ।
नेपाली समय अनुसार ११ः४० मा नै समूह ‘जी’ अन्तर्गत आरबी लिपजिग र जेन्टबीच खेल हुँदैछ। समूहको अर्को खेल लायोन र बेनफिकाबीच पौने २ बजे खेल हुँदैछ। समूहमा लिपजिग ६ अंकसहित शीर्षमा छ। जेन्ट र लायोनको चार–चार अंक छ भने बेनफिकाको ३ अंक रहेको छ।
समूह ‘इ’ अन्तर्गत लिभरपुल र जेन्क साथै नापोली र रेडबुल साल्जबर्गबीच पौने २ बजे नै खेल हुँदैछ। समूहमा ७ अंकसहित नापोली शीर्ष स्थानमा रहेको छ। दोस्रोमा रहेको लिभरपुलको ६ अंक रहेको छ। साल्जबर्गको तीन साथै जेन्कको एक अंक रहेको छ। यदि आजको खेलमा नापोली विजयी भएमा र जेन्कले लिभरपुललाई नहराएमा नापोली अन्तिम १६ मा प्रवेश गर्नेछ। यसले लिभरपुलमाथि दबाब थपिनेछ।
समूह ‘एच’ अन्तर्गत पौने २ बजे भ्यालेन्सिया र लिले साथै चेल्सी र अयाक्सबीच खेल हुँदैछ। समूहमा चेल्सी र आयक्स दुवैको ६–६ अंक रहेको छ। यस्तै भ्यालेन्सियाको ४ र लिलेको १ अंक रहेको छ। यो समूहबाट चेल्सी र आयाक्सलाई नै अघिल्लो चरणका लागि बलियो दाबेदारका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।