अबुजा- नाइजेरियाको सेनाले अपहरित छात्राको उद्धार नगरेको आरोपको खण्डन गरेको छ। देशको उत्तरपूर्वी राज्य योबेबाट यसै हप्ताको सुरुमा बोको हरामद्वारा अपहरित छात्राहरूलाई सरकारी सेनाले उद्धार नगरेको आरोप लागेको थियो।
स्थानीय केही अनलाइन सञ्चारमाध्यमहरुले ती अपहरित छात्रालाई सेनाले नै नियन्त्रणमा लिएर राखेको समाचार प्रकाशित गरेका थिए।
सैन्य प्रवक्ता जोन अगिमले सञ्चारचारमाध्यमहरुले लगाएको आरोपको कतैबाट पुष्टि हुन नसक्ने दाबी गरे। उनले त्यस बारेमा आगामी दिनमा हस्तक्षेपकारी भूमिका खेल्ने पनि बताए।
योबे प्रदेशअन्तर्गत पर्ने डाप्छी भन्ने गाँउमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणबारेमा नाइजेरियामा धेरै विवाद भएको छ।
अधिकारीका अनुसार कम्तीमा ४६ जना विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहीन रहेका छन्। सुरुमा क्याम्पसबाट ९४ जना भन्दा बढी छात्राहरु सम्पर्कविहीन भएका थिए।अहिलेसम्म हराएका र उद्धार गरिएका छात्राहरूका बारेमा सरकारी अधिकारीहरूले थप जानकारी दिन सकेका छैनन्। हराएका मध्ये २८ जनालाई मंगलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ।
घटनाका बारेमा अनुसन्धान गर्न राष्ट्रपति मोहम्मद बुहारीले मन्त्रिपरिषद्का तीन जना सदस्यलाई निर्देशन पनि दिइसकेका छन्।
झन्डै चार वर्षअगाडि पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो। अपहरित मध्ये १७० जनालाई मात्रै उद्धार गरिएको थियो।रासस/सिन्ह्वा
–––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।