नयाँ दिल्ली- भारतको नयाँ दिल्लीस्थित तीस हजारी अदालत परिसरमा शनिबार दिउँसो वकिल र पुलिसकर्मीहरु बीच झडप भएको छ। झडपका क्रममा प्रहरी सवार गाडीमा तोडफोड हुनाका साथै केही गाडीमा आगोसमेत लगाइएको छ।
वकिलहरुले आफ्ना २ साथी घाइते भएको दावी गरेका छन्। प्रहरीको गोलाबारीमा परि उनीहरु घाइते भएको वकिलहरुले दावी गरे पनि प्रहरीले भने गोली चलाएको विषयलाई अस्वीकार गरेको छ।
अधिकारी र प्रत्यक्षदर्शीका अनुसार झडपमा १० सुरक्षाकर्मी र केही वकिल घाइते भएका थिए भने १७ गाडीमा समेत क्षति पुगेको बताइएको छ।
बार एसोसिएशनले यस घटनाको निन्दा गर्दै आज एक दिनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीका सबै जिल्ला अदालतमा हड्ताल आह्वान गरेका छन्।
घटनाका सम्बन्धमा प्रहरी र वकिल दुवैतर्फबाट उजुरी गरिएको छ। घटनाको जाँच क्राइम ब्रान्चकै आपराधिक शाखाको एसआइटी टिमले गर्नेछ।
तीस हजारीको घटनालाई लिएर अमित शाहले माफी मागुन् : कांग्रेस
तीस हजारी अदालत परिसरमा वकिल र सुरक्षाकर्मीबीच भएको झडपको घटना ‘केन्द्र सरकारको अहंकारको परिणाम’ भएको भारतीय कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले यसका लागि भारतीय गृहमन्त्री अमित शाहले वकिलसँग माफी माग्नुपर्ने माग गरेको छ।
पार्टीका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले घटनाका लागि जिम्मेवार प्रहरीका विरुद्ध उजुरी दर्ता गर्नुपर्ने बताए। ‘तीस हजारीमा वकिलमाथि गोली र लाठीचार्ज गरिनु भाजपाको क्रुरता र अहङ्कारको परिणाम हो। सत्ताको नशामा मस्त भाजपा न कानुन मान्छ न त कानुनका पहरेदार वकिलहरुको सम्मान गर्छ,' उनले भने, ‘कांग्रेस अमित शाहले वकिलसँग माफी मागुन् र दोषी अधिकारीविरुद्ध उजुरी दर्ता गरियोस् भनी माग गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।