काठमाडौं– मेक्सिकोमा बुधबार बिहान ७ दशमलव १ को म्याग्निच्युडको भुइँचालो गएको छ। जसमा परी १ सय ३९ जनाको निधन भइसकेको विदेशी सञ्चारमाध्यमले जनाएका छन्। भुइँचालोका कारण ग्यास विछ्याइएको पाइप लाइन विस्फोट हुँदा ठूलो मात्रामा क्षति पुगेको लन्डनबाट प्रसारण हुने डेली मेल पत्रिकाको अनलाइन संस्करणमा जनाइएको छ।
क्षतिको हिसाबले सन् १९८५ मा मेक्सिको सिटीमा गएको शक्तिशाली भुइँचालो पछिको यसलाई ठूलो मानिएको छ।
१९८५ को भुइँचालोको सम्झनामा ३२ औं शोकसभा आयोजना भएको केही घन्टापछि नै अर्को शक्तिशाली भुइँचालो गएको हो। १९८५ को भुइँचालोमा १० हजारको हाराहारीमा सर्वसाधारणको निधन भएको थियो।
बुधबारको भुइँचालोले मेक्सिकोको राजधानीदेखि ७६ माइल दक्षिणपूर्वमा पर्ने पुबेला राज्यको राबोसालाई केन्द्रविन्दु बनाएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।
भुइँचालोपछि राजधानीमा त्रासको वातावरण देखिएको छ। भुइँचालोको झट्का महसुस गरेपछि सयौंको संख्यामा मानिसहरु घरबाट बाहिर बाटोमा निस्किएका थिए।
यसै महिना पनि मेक्सिकोमा ८ दशमलव १ म्यागनिच्युडको भुइँचालो गएको थियो। जसमा ८० जनाले ज्यान गुमाएका थिए। क्षतिको हिसाबले बुधबारको भुइँचालो ठूलो मानिएको छ।
स्थानीय सुरक्षाकर्मीहरु उद्धार कार्यमा जुटिसकेका छन्। सहरमा बिजुली र पानीको अभाव देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।