रामपुर, पाल्पा- जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चा वडाध्यक्षको जिम्मेवारी पाएपछि सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त छन्।
वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउँछन्। बिहान १० बजे कार्यालयमा पुगेपछि नै सिफारिस लेख्ने कार्यमा उनी व्यस्त हुने गरेका छन्।
'कर्मचारीभन्दा अघि नै कार्यालयमा पुगेको हुन्छु, अहिले सिफारिस लेख्ने काममा व्यस्त छु,' उनी भन्छन्, 'जनताको सेवा गर्न पाउँदा निकै खुसी लागेको छ।' सार्वजनिक बिदाको दिनमा समेत उनी काम गरिरहेका भेटिन्छन्।
निस्दी गाउँपालिका–१ का वडाध्यक्ष पूर्णबहादुर खाँण पनि कार्यालयमा बसेर सिफारिस लेख्नमै व्यस्त छन्। 'वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि सिफारिस लेख्ने कामले एकछिन पनि फुर्सद छैन,' उनले भने, 'दिउँसो कार्यालयमा बसेर सिफारिस लेख्ने, बिहान साँझ वडाको विकास निर्माणका काममा व्यस्त छु, जनता र गाउँको विकास गर्नैपर्यो।'
जन्म, मृत्यु, विवाह, बसाइँसराइ बाहेक अन्य नागरिकता, मालपोत लगायतका धेरै प्रकृतिका सिफारिस वडाध्यक्षले नै गर्नुपर्दछ। कामको जिम्मेवारी गाउँपालिकाका अध्यक्ष, नगरप्रमुखलाई भन्दा वडा अध्यक्षलाई बढी हुन्छ।
तर त्यही वडाध्यक्षलाई बजेटसम्बन्धी पूर्ण अधिकार नभएको तानसेन नगरपालिका–६ का अध्यक्ष सागर महर्जन बताउँछन्। कामको जिम्मेवारी बढी, बजेट अधिकार शून्यजस्तै भएका कारण अबको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार हुने व्यक्ति पाउन कठिन हुने उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।