धुलिखेल- बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने अभियान स्वरुप मुख्य बजारको पुल बजारदेखि बुडोलडाँडासम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै सामग्री हटाएको छ।
नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेको नेतृत्वमा सडक देउछाउमा राखिएका साना फलफूल व्यवसायी, कपडा व्यवसायी, चटपटे व्यवसायीदेखि ठूला निर्माण व्यवसायी र खाद्य स्टोर सञ्चालन गर्नेले राखेका सामग्री प्रहरी प्रशासन लगाएर हटाइएको हो।
नगरप्रमुख बादेले ‘बनेपा नगरपालिकालाई स्वच्छ र सुन्दर बनाऔँ, अरनिको राजमार्ग क्षेत्र व्यवस्थित बनाऔँ’ भन्ने अभियान सञ्चालन गरी बजार क्षेत्रमा बाहिर सडकमा राख्दै आएका व्यावसायिक प्रयोजनका सबै सामग्री हटाइएको बताए।
'यसले नगरको रुपलाई कुरुप बनाउनेदेखि सडक दुर्घटनादेखि प्रदूषण हुनका साथै बजार नै अस्तव्यस्त भएकाले नगरपालिकाले यसअघि नै पटकपटक सार्वजनिक सूचना जारी गरी अभियान थालनी गरेका हौँ,' बादेले भने।
उनले अहिले पुल बजारदेखि बुडोलडाँडासम्म हटाउने र पछि बनेपा नगरपालिकाभित्रको क्षेत्र साँगादेखि २८ किलोसम्म नै सबै खाली गराउने बताए। 'यसका लागि पुस ७ गतेदेखि नै सडक डिभिजन कार्यालयबाट, पुस १३ गते नगरपालिकाबाट, माघ १८ गते पुनः नगरपालिकाबाट नै सूचना जारी गरी पर्चा र पम्प्लेटिङसहित प्रचार गरेका छौँ,' उनले भने, 'नियमअनुसार सडक मिचेर राखिएका सबै सामग्री हटाउनुपर्छ, यदि नहटाए हामीले उठाएर लैजाने छौँ, त्यसको भागीदार स्वयं नै हुनेछ, नगरपालिका हुँदैन।'
सडक प्रयोग गरी व्यापार व्यवसाय गर्दै आएका ठूला व्यापारीले भने आफूहरुले सूचना जानकारी केही नपाएको र सामान हटाउन अलि समय लाग्ने भएकाले केही दिन पर्खन नगर प्रमुखसँग आग्रह गरेका छन्।
यसअघि नगरपालिकाले नगरको सरसफाइका लागि भनेर सडक छेउमा साना पसल राखेर व्यवसाय गर्नेसँग दैनिक सरसफाइ करसहित भनेर रु ७५ उठाउने गरेको थियो। नगरपालिकाको बजार अस्तव्यस्त हुने र सडक दुर्घटनासमेत बढेको भए पनि करमात्रै उठाएर दुर्गन्धित बनाएको बनेपा नगरपालिकाले अहिले भने सुन्दर नगरपालिका बनाउने अभियान थालनी गरेर राम्रो कामको थालनी गरेको नगर बासिन्दा बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।