विराटनगर- प्रदेश १ को सरकारले ‘जनतासँग प्रहरी’ कार्यक्रम सुरु गर्ने भएको छ। मुख्यमन्त्री शेरधन राइले मन्त्रिपरिषद्को दोस्रो बैठकमा जनतासँग प्रहरी कार्यक्रमबारे जानकारी गराएका हुन्।
उनले भयरहित समाज निर्माणका लागि जनतालाई सुरक्षाको प्रत्याभूति दिनु प्रदेश सरकारको दायित्व रहेको बताए। ‘जनताको सुरक्षाको ग्यारेन्टी लिने जिम्मा सरकारको हो’, राईले भने, ‘हामी पूर्ण जिम्मेवार सरकार भएर प्रस्तुत हुनेछौँ।’
प्रदेश सरकारले जनताको घर–घरमा स्थानीय प्रहरीको नम्बरसहितको स्टिकर टाँस्ने र जनतालाइ सुसूचित गराउने योजना बनाएको छ। उक्त स्टिकरमा नजिकको प्रहरी कार्यालयको नम्बर राखिनेछ भने कोही अप्ठ्यारोमा परे प्रहरी तत्काल पुग्न सक्ने व्यवस्था मिलाइनेछ। यसका लागि घरधुरी संख्या यकिन गर्ने पहिलो योजना छ।
योसँगै राईले स्थानीय सरकारमार्फत प्रदेशका हरेक गाउँमा सडक सञ्जालको विस्तार गर्ने योजना रहेको बताए। उनले प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र सञ्चालन भइरहेको सडक योजनालाई प्राथामिकतामा राखी समय सीमाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिने काम विराटनगर इटहरी धरान सडक खण्डको ६ लेन प्रोजेक्टबाट सुरु गरेको जानकारी दिए।
यसैगरी मन्त्रिपरिषद्को बैठकले जनतासँग मुख्यमन्त्री सम्वाद कार्यक्रम कार्यन्वयनमा ल्याउने भएको छ। मुख्यमन्त्रीसँग प्रदेशभित्रका जनताले पाक्षिक रुपमा टेलिफोन सम्वाद गर्न सक्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।