नुवाकोट- नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
विदुरमा सञ्चालन हुने महोत्सवको आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार महोत्सवमा प्रदेश नं ३ स्तरीय अवलोकनकर्ता सहभागी गराउन लागिएकाले यहाँको कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गराउन प्राथमिकता दिन लागिएको छ।
११ दिनसम्म चल्ने महोत्सवमा २७५ स्टल समावेश हुने प्रचारप्रसार समितिका संयोजक सन्तोष उप्रेतीले बताए। 'कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्रीको बिक्री एवं प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ,' उनले भने।
यसअघि सञ्चालित महोत्सवका कमजोरी सच्याउँदै अहिलेको महोत्सव उत्कृष्ट बनाउन नुवाकोटको पहिचान रहेको त्रिशूलीको कान्छी बदाम, शिखरबेँसीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भुइँस्याउको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको उनको भनाइ छ।
‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित सञ्चालन हुन लागेको महोत्सवलाई आकर्षक बनाउन र स्थानीय संस्कृति र धार्मिक स्थलको संवर्द्धन, गोरु जुधाइ, त्रिशूली नदीमा र्याफ्टिङ, साततले दरबार परिसरबाट प्याराग्लाइडिङ, जिल्लाको मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हुँदै गोसाइँकुण्डसम्म हेलिकप्टर भ्रमण तथा हात्ती सफारीको समेत व्यवस्था मिलाएको आयोजकले जनाएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।