गोरखा– प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले सदरमुकाममा प्रेस सेन्टर गोरखा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा हरेक महिना किसानमाझ जाने भन्दै अभियान घोषणा गरेका हुन्।
‘हरेक महिना बिभिन्न ठाउँका कृषकहरुको माझ जान्छु, उनीहरुको समस्या बुझ्छु अनि समाधानको उपाय पनि खोज्छु,’ थापाले भने। बेरोजगारी अन्त्य गर्ने क्षेत्र कृषि भएकाले यसको विकासका लागि आफू निरन्तर क्रियाशील रहने उनले बताए। कृषि ब्लक, कृषि जोन, सुपर जोन निर्माण गरी काम गर्ने बताउँदै मन्त्री थापाले उत्पादन सहकारीमार्फत सहकार्य गरी उत्पादन वृद्धि गर्ने र प्रदेश नम्बर ४ लाई कृषिमा आत्मनिर्भर बनाइने मन्त्रालयको योजना रहेको जानकारी गराए।
केही समय ऐन नियमहरु बनाउन लाग्ने बताउँदै नेता थापाले कृषिका विज्ञहरुको सहयोग लिएर आवश्यकताका आधारमा नीति निर्माण गरी योजनाहरु तर्जुमा गरिने उनको भनाइ छ। स्वदेशमा नै अर्गानिक उत्पादन वृद्धि गरी विदेशबाट कुनै पनि कृषिजन्य पदार्थ आयात नगर्ने अवस्थामा प्रदेश नम्बर ४ लाई पुर्याउने भन्दै उनले थपे, 'दूध, माछा, मासु, अण्डा, तरकारी लगायतका कृषिजन्य वस्तुको उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउन अब लाग्नेछौं।'
प्रदेशका जिल्लाहरुमा एक जिल्ला एक नमुना बालीको रुपमा पहिचान बनाउने योजना रहेको पनि उनले सुनाए। ‘जुन ठाउँमा जुन बाली राम्रो उत्पादन हुन्छ, त्यसैलाई उक्त ठाउँको पहिचान बनाउने लक्ष्य छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।