काठमाडौं– समसामयिक राजनीतिक विषयमाथि छलफल गर्दै नेकपा (माओवादी केन्द्र) को कार्यालय बैठक सम्पन्न भएको छ।
पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अपराह्न ४ बजेदेखि चलेको बैठकमा नेकपा एमाले सँगको पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले बताइन्।
प्रवक्ता भुसालका अनुसार, बैठकमा सहभागी कार्यालय सदस्यहले पार्टी एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे समझदारीका बारेमा जिज्ञासा राखेका थिए। पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित दुवै कार्यदलको बिहीबारको बैठकको प्रगति बारेमा समेत छलफल भएको थियो।
बैठकले पार्टी एकताको प्रक्रियाको स्वागत गरेको भुसालले बताइन्।
यसैगरी आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी हुने मन्त्रीहरुका बारेमा समेत छलफल भएको प्रवक्ता भुसालले बताइन्।
'मन्त्री छनोट गर्दा समावेशी, समानुपातिक आधारमा नयाँ र पुराना, अनुभवीलगायत सबै पक्षलाई विचार गरेर पठाउने भन्ने विषयमा छलफल भयो। तर आजको बैठकमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन', प्रवक्ता भुसालले भनिन्, 'मन्त्रालय १८ बनाउने भन्ने कुरा भएको छ । तर नामका बारेमा माथिका पक्षहरु विचार गरेर अध्यक्षलाई जिम्मा दिइएको छ।'
भुसालका अनुसार, बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टी बीच मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो नलागेको भनी ब्रिफिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।