प्रदेश २ को निर्वाचन पर्यवेक्षणमा खटिएको वातावरण, शान्ति, सुरक्षा र सामाजिक न्याय केन्द्र (स्कोप नेपाल)ले निर्वाचनका क्रममा व्यापक आचारसंहिता उल्लंघन भएको जनाएको छ।
‘स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रकृयामा आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ’, स्कोपद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आचारसंहिताको कार्यान्वयन गर्ने र गराउने सम्वन्धित पक्षहरु जिम्मेवार देखिएनन्।’
‘उम्मेदवारले मतदानकै दिनमा समेत मतदातालाई प्रभावित पार्ने खालका गतिविधिहरु गरेको पाइयो।’, विज्ञप्तीमा भनिएको छ।
उसले यस निर्वाचनमा पनि मतदाता शिक्षामा कमी देखिएको बताएको छ। भनेको छ, ‘मतपत्र पाएपश्चात् पनि मतदाताहरु थप अलमलिएका अवस्था पाइयो।’
जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि मतदानमा सहजता प्रदान गर्न गर्नुपर्ने आवश्यक व्यवस्था हुन नसकेको पनि विज्ञप्तीमा जनाइएको छ।
‘निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण वातावरणमा उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ गर्मीका बावजुद हरेक जसो जिल्लामा महिला र बृद्ध मतदाताहरुको सक्रियता बढी पाइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।