काठमाडौं- सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले नयाँ सरकारमा ठूला भनिएका मन्त्रालय पाउने भएको छ। वाम गठबन्धनका प्रमुख नेताको सहमती अनुसार १८ वटा मन्त्रालय बनाउने तयारी छ। त्यसमध्ये १० मन्त्रालय एमाले र ७ मन्त्रालय माओवादीले पाउनेछ। एउटा मन्त्रालयबारे भने टुंगो लगाइएको छैन। मधेशी दल सरकारमा आउने वातावरण बनेको खण्डमा दुवै दल १-१ मन्त्रालय छोड्ने मनस्थितिमा छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुटेको सहमति अनुसार एमालेले अर्थसहित प्रभावशाली मन्त्रालय पाएको छ। एमाले नेता सुरेन्द्र पाण्डेले मन्त्रालय बाँडफाँटको छलफल चलिरहेको र केही मन्त्रालय टुङ्गो लागेको बताए। उनका अनुसार एमालेले अर्थ, भौतिक योजना तथा निमार्ण, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालय पाउने पक्का भएको छ।
एमालेबाट लालबाबु पण्डित जनसंख्या तथा वातावरण र थममाया थापा मगर महिला बालबालिका मन्त्रालयको जिम्मेवारी लिएर बसेका छन्।
माओवादी नेताका अनुसार माओवादीले गृह र ऊर्जा लगायतका मन्त्रालय पाउनेछ।
मन्त्रालयको विषयमा छलफल भइरहे पनि अन्तिम टुङ्गो नलागेको एमाले नेता सुवासचन्द्र नेम्वाङले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।