जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्।
१०० जना सांसदमात्रै उपस्थित भएको आजको सभामा राउतको पक्षमा ८२ र विपक्षमा १८ मत खसेको एकजना सांसद डिम्पल कुमारी झाले जानकारी दिइन्। यो प्रदेशमा कुल १०७ सांसद छन्।
राउतको पक्षमा संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, एमाले, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए।
'नेपाली कांग्रेसबाहेक सबै पार्टीको समर्थन रह्यो', झाले भनिन्।
संघीय समाजवादी फोरमका नेता समेत रहेका राउत फागुन २ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने ३ गते सपथ लिएका थिए।
संविधानको धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।