काठमाडौं- संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउन नेकपा एमालेले औपचारिक कसरत जारी राखेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा मधेश केन्द्रित दललाई समावेश गर्न भन्दै एमालेले फोरमसँग औपचारिक संवाद बढाइरहेको छ। त्यसैको पहल स्वरुप एमालेले बिहीबार पनि फोरमका दोस्रो तहका नेतासँग छलफल गरी सरकार विस्तारमा सहभागी हुन प्रस्ताव गरेको छ। एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको दुबै दलको बैठकमा एमालेले सो प्रस्ताव दोहोर्याएको हो।
फोरम नेता शिवजी यादवले एमालेसँग छलफल चलिरहेको बताउँदै संविधान संशोधनको मुद्दामा सहमति भए नयाँ सरकारमा सहभागी हुने बारे सोच्न सकिने बताए।
‘संविधान संशोधनमा एमालेको प्रतिबद्धता हामीले खोजेका हौं, त्यसमा सहमती जुटेको खण्डमा फोरम सरकारमा जान सक्छ,’ उनले भने।
पार्टी एकता र सरकार गठनमा प्याकेजमै सहमती खोज्ने गृहकार्य चलिरहँदा वाम गठबन्धनका प्रमुख दुई नेता एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरम अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल गरेका थिए। वाम एकताको निर्णय भएको दिन फागुन ७ गतेको बैठकमा वाम गठबन्धनले फोरम अध्यक्ष यादवसँग छलफल गर्दै सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए।
फोरमले सहमतीका लागि संशोधनको खाका ल्याउन एमालेसँग औपचारिक प्रस्ताव गरेको छ। संविधान संशोधनमा सहमती जुटाउन कार्यदल बनाएर अघि बढ्न फोरमले प्रस्ताव गरेको हो। कार्यदल मार्फत संशोधनमा सहमती जुटेको खण्डमा नयाँ सरकारमा सहभागी हुन सकिने फोरमका नेता शिवजी यादव बताउँछन्।
‘कुन किसिमले अगाडी बढ्न सकिन्छ भन्ने विषयमा कार्यदल बनाएर गृहकार्य गरौं, भन्ने हाम्रो प्रस्ताव हो,’ उनले भने।
पछिल्लो समय एमाले समेत संविधान संशोधनको प्रस्तावमा सकारात्मक देखिएको छ। एमालेले आन्तरिक रुपमा छलफल गरेर संशोधनको खाका प्रस्तुत गर्ने भनी मधेश केन्द्रीत दललाई आश्वासन दिएको छ। वार्तामा सहभागी एमालेका एक नेताका अनुसार दुवै दलबीच बुँदागत रुपमा छलफल गरेर संशोधनको विषयमा निर्णयमा पुग्ने सहमती बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।