सुर्खेत- प्रदेश नं ६ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षा योजना बनाउन सुरु गरेको छ। मन्त्रालयले डिजिटल प्रदेश बनाउनेदेखि पर्यटन प्रहरी खटाउनेसम्मका योजना अघि सारेको हो।
मन्त्रालयले तीन वटा कार्यदल बनाएर काम सुरु गरिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए। उनले प्रदेशको सुरक्षाका लागि सबै पक्षको सुझाव र सल्लाहका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइने पनि जनाए। छिमेकी प्रदेशसँग समेत समन्वय गरेर प्रदेश नं ६ का हरेक नागरिकलाई सुरक्षित बनाउन आफूहरु लागिपरेको उनको भनाइ छ। मन्त्रालयले आवश्यक कानुन निर्माणका लागि पनि कार्यदल बनाएर काम सुरु गरिसकेको छ।
‘डिजिल प्रदेश’ योजना
अपराध नियन्त्रण र शान्ति सुरक्षालाई विश्वसनीय बनाउन डिजिटल प्रदेश बनाउने योजना अघि सारिएको मन्त्रालयले जनाएको छ। योजना अनुसार आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै प्रदेशको शान्ति सुरक्षा सम्बन्धी सबै जानकारी सफ्टवेयरमा राखिने छ।
‘अब हरेक व्यक्तिको लाइसेन्स र ब्लुबुकको विवरणदेखि चारित्रिक अवस्थासमेत विशेष सफ्टवेयरमा राखिनेछ, जसले कुनै कुनै पनि अनुसन्धानलाई प्रभावकारी र छरितो बनाउन सघाउ पुग्नेछ,’ प्रदेश ६ का अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रविक्रम शाहले भने। हरेक जिल्लाका सदरमुकाममा सिसी क्यामेरा जडान गर्ने योजना पनि यसै अन्तर्गत रहेको जनाइएको छ।
‘समृद्धिका लागि शान्ति सुरक्षा’ कार्यक्रम
मन्त्रिपरिषद् बैठकले गरेको ‘समृद्धिका लागि शान्ति सुरक्षा’ योजना कार्यान्वयन गर्नका लागि अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रविक्रम शाहको संयोजकत्वमा कार्यदल बनाइएको छ। उक्त कार्यदलले शान्ति सुरक्षाको विस्तृत योजना बनाएर यही फागुन १९ गते औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।
यो योजना अन्तर्गत प्रहरी जनशक्ति थप गर्ने पनि मन्त्रालयको तयारी छ। हाल ५ हजार ९० जना प्रहरी कार्यरत रहेको प्रदेशमा ५ हजार ४ सय जनशक्ति थप गरी १० हजार ५ सय पुर्याइने कार्यदलका संयोजक शाहले जनाए। त्यसैगरी प्रदेशका सबै जिल्ला सदरमुकाममा सिसी क्यामेरा जडान गरिने योजना यसमा समावेश गरिएको छ।
लागऔषध नियन्त्रणका लागि अभियान चलाउने र दुर्व्यसनमा फसेकाहरुलाई सुधारका लागि सरकारी स्वामित्वका प्रदेशस्तरीय सुधार केन्द्र निर्माण गर्ने, सडक बालबालिका र बालश्रमिकका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, विपद जोखिम क्षेत्रहरुमा साइरन जडान गर्ने लगायतका ४० बुँदे कार्ययोजना समृद्धिका लागि शान्ति सुरक्षा कार्यक्रममा समावेश गरिएको छ।
‘पर्यटन प्रहरी’ परिचालन
शान्ति सुरक्षालाई मजबुत बनाउन प्रदेशमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ। प्रदेशका सबै विमानस्थल, बसपार्क र प्रमुख पर्यटकीय स्थलहरुमा ‘पर्यटन प्रहरी’ राखिने योजना रहेको उनले जानकारी दिए। अबको १५ दिनभित्रै प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पर्यटन प्रहरी राखिसकिने जनाइएको छ।
ती प्रहरीले पर्यटकहरुलाई पर्यटकीय स्थलको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।