काठमाडौं- वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको संगठनात्मक र विधान मस्यौदा तयार गर्न कार्यदललाई १५ दिनको समय दिएका छन्।
बालुवाटारमा आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठकमा दुवै पार्टीका प्रमुख नेताले आन्तरिक गृहकार्य गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन्।
माओवादी प्रवक्ता पम्फा भुसालले दुवै पार्टीको विभिन्न कमिटीको संरचना र विधान अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी कार्यदललाई दिएको बताइन्।
पार्टी एकीकरणको निर्णय गरेका दुई वाम घटक एमाले र माओवादीले सांगठनिक र विधान तयारका लागि दुई कार्यदल गठन गरेका थिए। संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।
विधान कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।