काठमाडौं- एकीकृत पार्टीको संगठनात्मक संरचना तयार गर्न वाम गठबन्धनको कार्यदल औपचारिक छलफलमा जुटेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा एमाले र माओवादीका शीर्ष नेताको उपस्तिथि रहेको छ। पार्टी एकता गर्ने निर्णय गर्दै त्यसको प्रारम्भिक आधार तयार गरेको वाम गठबन्धनले सांगठनिक संरचनामा सहमति जुटाउन कार्यदल बनाएको थियो।
वाम गठबन्धनले बनाएको कार्यदल सहितको शीर्ष नेताको आजको बैठकले एकीकृत पार्टीको संरचना र नेताहरुको कार्यविभाजनका विषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको छ।
वाम गठबन्धनले निर्माण गरेको संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।
एकीकृत पार्टीको नामसहित मार्गदर्शक सिद्धान्तको विषयमा औपचारिक निर्णय गरेका वाम गठबन्धनले सांगठनिक र सैद्धान्तिक विषय व्यवस्थापनका लागि दुई कार्यदल बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।