काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औं महासभामा भाग लिन मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।
२० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ५ बजे इत्तिहाद एअरलाइन्सको विमानबाट युएईको आबुधाबी हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीहरु लगायतले बिदाइ गरेका थिए।
प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरस, अन्य देशका राष्ट्रपति र समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने विषयक महासभाको उच्चस्तरीय छलफल मंगलबारदेखि सुरु हुँदै छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।