काठमाडौं- आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार पर्याप्त गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ।
मन्त्रालय बाँडफाँट र सरकार विस्तारका लागि बालुवाटारमा बसेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफलले ठोस निष्कर्ष निकाल्न सकेन। एकै पटक सरकारलाई पूर्णता दिने वा तत्कालका लागि केही सदस्य थपेर मन्त्रिमण्डल विस्तार गर्ने भन्ने विषयमा दुवै नेताबीच छलफल भएको थियो।
मन्त्रिमण्डलमा सहभागी हुने आकांक्षीको संख्या धेरै भएपछि त्यसलाई व्यवस्थापन गर्न शीर्ष नेतृत्वलाई कठिन परेको छ। यसका साथै वाम गठबन्धनका प्रमुख दुई नेताले मन्त्रिमण्डलको संख्याबारे समेत सहमति जुटाउन सकेका छैनन्।
थप छलफल गरेपछि मात्र माओवादीले मन्त्रीहरुको टुंगो लगाउने भएको छ। माओवादीका एक नेताका अनुसार, मन्त्रालयको संख्या, त्यसको स्वरुप र नामकरण नभएको अवस्थामा तत्काल मन्त्रिपरिषद् विस्तार गर्न समस्या देखिएको हो। वाम गठबन्धनका शीर्ष नेता राजकीय पदको प्याकेजमै डिल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।
ती नेताका अनुसार, मन्त्रिमण्डलको विस्तार भोलि हुने सम्भावना छ। यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले आजै सरकार विस्तार हुनसक्ने भन्दै तयारी अवस्थामा रहन नेता रामबहादुर थापा र मातृका यादवलाई निर्देशन दिएका थिए।
बैठक लगत्तै दुवै दलका शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका थिए। राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले समसामयिक राजनीतिक विषयका साथै मन्त्रिपरिषद् विस्तार लगायतको विषयमा कुराकानी भएको नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।