काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई दिनमा सरकार विस्तार हुने बताएका छन्।
काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गएका ओलीले सरकार विस्तार कहिले हुन्छ भनेर राखिएको जिज्ञासामा बिहीबार र शुक्रबारसम्ममा सरकारले पूर्णता पाउने बताए।
प्रधानमन्त्री ओलीले सरकारको मुख्य प्राथमिकता नै समृद्धि र विकास भएकाले आफू हर तरहले जनतालाई यो उपलब्धिको अनुभूति गराउन प्रयत्नशील रहने जिकिर गरे।
‘मेरो हरेक पाइला विकासका लागि हुनेछ’ प्रधानमन्त्रीले भने, ‘अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको उपयोग हुन्छ।’
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने समेत बताए।
दहचोकमै रहेको नेपाल एकीकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यार्पण गरेपछि महोत्सवको उद्घाटन गर्न पुग्नु भएका ओलीले नेपाल एकीकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।