कोलोम्बो- श्रीलङ्काली पूर्वसैनिक प्रमुख एवम् हालका क्षेत्रीय विकाससम्बन्धी मन्त्री शरथ फोँसेकालाई अमेरिका प्रवेशमा रोक लगाइएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जान लागेका उनलाई प्रवेशाज्ञा (भिसा) नदिइएको हो।
उनी संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि अमेरिका जान लागेका थिए। श्रीलङ्काली प्रतिनिधिमण्डलमा उनी पनि परेका थिए। अरु सबैले भिसा पाए पनि उनले नपाएको समाचारमा जनाइएको छ।
उनी सन् २००९ मा श्रीलङ्काली विद्रोही समूह, तामिल टाइगरविरुद्धको कारबाहीका समयमा उक्त देशको सैनिक प्रमुख थिए। उनीमाथि तामिलहरुका विरुद्धमा युद्धअपराध गरेको अभियोग लागेको छ। सो अभियोगका कारण नै उनलाई अमेरिका जान रोक लगाइको सञ्चारमाध्यमले जनाएका छन्।
उनले सम्वाददाताहरुसँग भने, 'म पनि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रतिनिधिमण्डलमा राष्ट्रसंघीय महासभामा जाने सदस्य थिएँ तर मलाई भिसा दिइएन।' आफूलाई यसले अन्याय भएको उनले बताएका छन्।
राष्ट्रपति सिरिसेनाको नेतृत्वको प्रतिनिधिमण्डल भने गत आइतबार नै अमेरिका प्रस्थान गरिसकेको छ।
सन् २००९ मा श्रीलङ्काली सरकारले तामिलका विरुद्धमा आक्रामक कारबाही गरेको थियो। सो समय उनी सैनिक प्रमुख रहेको नाताले पनि यस्तो अपराधको आरोप लागेको छ। उनले भने आरोपको खण्डन गर्दै आएका छन्। त्यस समयमा आफूले ती विद्रोहीको सफाया गरेको नभई सरकारको आदेशको मात्र पालना गरेको उनको अडान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।