जनकपुरधाम– जनकपुर उपमहानगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्ब ७४ करोड ५१ लाख ४० हजार बजेट विनियोजन गरेको छ।
नगर प्रमुख लालकिशोर साहले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको फोहोरमैला व्यवस्थापन, ढल निर्माण, मठमन्दिर व्यवस्थापन, धार्मिक सरोवरहरुको सौन्दर्यीकरण तथा संरक्षणमा विशेष जोड दिइएने बताए।
जनकपुरको प्रसिद्ध जानकी मन्दिर, राममन्दिर, मणिमण्डप लगायतका पुरातात्विक महत्व बोकेका स्थलहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने, मिथिला कला र संस्कृति संंरक्षणमा जोड दिन विभिन्न कार्यक्रम सुरु गर्ने लगायत योजनाहरु समावेश गरिएको छ।
जनकपुरमा रहेका सार्वजनिक जग्गा अतिक्रमण भइरहेको समयमा उपमहानगरपालिकाले त्यस्ता जग्गाहरुलाई संरक्षण गर्ने योजना समेत अगाडि सारेको छ।
जनकपुरलाई सुरक्षित नगरको रुपमा विकास गर्न ठाउँठाउँमा सिसिटिभी जडान, ट्राफिक व्यवस्थानमा जोड दिइने समेत लक्ष्य लिइएको छ। जनकपुर उपमहानगरपालिकालाई आउँदो वर्षदेखि प्लास्टिकजन्य पदार्थ पूर्णरुपमा निषेध गरिने लक्ष्य अगाडि बढाइएको छ।
नगरसभामा सहिद परिवारका सदस्यहरुलाई दोसल्ला तथा ५ हजार १ सय ५ रुपैयाँसहित सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।