रुपन्देही- देवदह-४ भवानीपुर नजिकैको विजयपुर चोक वरपरका बासिन्दाको निद्रा बुधबार बिहानै ३ बजेतिर भंग भयो। बिहानीपखको मस्त निद्रामा रहेका उनीहरुले बिस्ताराबाटै मकै पड्किएजस्तै गोली पड्किएको आवाज सुने।
'के भएको हो, कस्तो घटना हो भनेर बिहान नहुँदासम्म खुलदुली भइरह्यो,' स्थानीय सीता बस्यालले भनिन्, 'गोली पड्किएको आवाज सुनेपछि त्रासले बाहिर निस्कन सकेका थिएनौं। बिहान ६ बजेपछि हल्लाखल्ला चल्यो, प्रहरीले मनोज पुनलाई गोली हान्यो रे भन्ने।'
घटना घटेको ३-४ घन्टापछि मात्रै मानिसहरु घटनास्थल पुगेका थिए। प्रहरीको तीव्र खोजीमा रहेका मनोज पुन र सोम आलेको बिहान ३ बजेतिर इन्काउन्टरमा मृत्यु भएको थियो। बिहान हुँदासम्ममा घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति थियो भने वरिपरि स्थानीयबासी झुरुप्प भेला भइसकेका थिए।
बिहान उज्यालो भएपछि प्रहरीले घटनास्थल वरिपरि स्थानीयलाई जान दिएको थियो। भवानीपुर खोलाको सानोपुलको पूर्वी मुखमा मनोज पुन र सोम आले ढलेका थिए।
प्रहरीको इन्काउन्टरमा मनोजलाई १२ वटा गोली लागेको थियो। उनको छाती र पेटमा गरी ९, तिघ्रामा २ र पाखुरामा एउटा गोली लागेको थियो भने सोम आलेको छातीमा ५, पेटको बायाँ भागमा १, ढाडमा १, पिँडौंलामा १ र बायाँ कोखामा २ वटा गोली लागेको थियो।
घटनास्थलमा मनोज पुनका तर्फबाट एउटा गोली चलेको र प्रहरीको मोटरसाइकलमा लागेको एसपी श्याम ज्ञवालीले बताए। मनोज पुनबाट एउटा ल्याप्टप र एउटा पेस्तोल बरामद भएको छ। मनोजले सूर्य राना नामको नवलपरासीबाट निकालिएको पासपोर्ट र फरक नामकै एटिएम कार्ड पनि प्रहरीले बरामद गरेको छ।
दुई अपराधीको मृत्युपछि स्थानीय र उद्योगी व्यवसायीले राहतको महसुस गरेको बताएका छन्।
घटनाबारे स्थानीय सीता बस्याल र एसपी श्याम ज्ञवाली यसो भन्छन्-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।