विराटनगर– प्रदेश नम्बर १ को राजधानी मोरङको विराटनगर भए पनि मुख्यमन्त्री बाहेकका प्रमुख पदहरुमा सुनसरीको वर्चस्व देखिएको छ। सभामुख, उपसभामुख तथा प्रतिपक्ष दलको नेता सुनसरीले हात पारेको छ भने मन्त्रिमण्डलमा पनि सुनसरीले एउटा मन्त्रालय पाएको छ।
मुख्यमन्त्रीमा भोजपुरका शेरधन राई निर्वाचित भए। भोजपुरबाट प्रदेशसभा सदस्यमा विजयी भएका राई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह–संयोजक हुन्। मुख्यमन्त्रीमा पनि सुनसरीका भीम आचार्यले दाबेदारी प्रस्तुत गरेका थिए। एमाले संसदीय दलको नेतामा राईसँग प्रतिस्पर्धा गरेका एमालेका प्रदेश इञ्चार्ज आचार्य २ मतले पराजित भएका थिए।
सभामुखमा सुनसरीको धरान–१३ का प्रदीपकुमार भण्डारी चयन भएका छन्। सुनसरी क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भण्डारी शिक्षण पेसाबाट आएका हुन्। उनी एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान इञ्चार्ज हुन्।
माओवादीको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी सरस्वती पोखरेल उपसभामुख बनेकी छन्। उनी पनि सुनसरी निवासी हुन्। २०३२ सालमा प्यूठानमा जन्मिएकी पोखरेल २०४६ सालदेखि सक्रिय राजनीतिमा छिन्। ०५८ सालदेखि जनयुद्धमा लागेकी उनी माओवादी पोलिटब्युरो सदस्य तथा सुनसरी संयोजक पनि हुन्।
प्रदेश १ को पाँच सदस्यीय मन्त्रिमण्डलमा पनि सुनसरीले एक मन्त्रालय हात पारेको छ। कोसी गाउँपालिका निवासी जगदीश कुसियैत उद्योग, पर्यटन तथा वातावरण मन्त्री नियुक्त भएका छन्। एमालेका केन्द्रीय सदस्य रहेका उनी सुनसरी क्षेत्र ४(क) बाट विजयी भएका थिए।
मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की झापा, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो पाँचथर तथा सामाजिक विकासमन्त्री जीवन घिमिरे मोरङका स्थायी बासिन्दा हुन्। माओवादीको संसदीय दलको नेतामा भने ताप्लेजुङका टंक आङबुहाङ चयन भएका छन्।
प्रमुख प्रतिपक्षी दलको नेतामा सुनसरीकै राजीव कोइराला चयन भएका छन्। कांग्रेस सुनसरीका सभापति कोइराला प्रदेश १ को संसदीय दलको नेतामा निर्विरोध चयन भए। सुनसरी २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कोइराला इनरुवा नगरपालिका निवासी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।