भैरहवा– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट देशले निकास पाउन नसक्ने बताएका छन्।
नयाँ विचारका साथ अगाडि बढ्न नसके देश थप संकटमा फस्ने भट्टराईको विश्लेषण छ। बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि सुरु भएको नयाँ शक्तिको संघीय परिषद्को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले देशका दुई ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसलाई कोकाकोला र पेप्सीकोलाको संज्ञा दिदै दुवै काम नलाग्ने टिप्पणी गरे।
‘देशमा कांग्रेस र कम्युनिस्ट कोकाकोला र पेप्सीकोला जस्ता ब्रान्ड बनेर बसेका छन्। दुवैले मानव शरीरलाई हित गर्दैनन्’, भट्टराईले भने, ‘हामीले जनतालाई हित हुने नयाँ पेय पदार्थ दिनुपर्छ।’
नेता भट्टराईले भर्खरै सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिहरुले जित हासिल गरे पनि उनीहरुले देशलाई निकास दिन नसक्ने दाबी गरे। केही वर्ष सत्तामा हालीमुहाली गरे पनि उनीहरुले अन्ततः देशलाई दुर्घटनामा पार्ने खतरा रहेको दाबी समेत गरे। भट्टराईले कांग्रेस र कम्युनिस्टको साटो नयाँ विचारसहितको तेस्रो ध्रुव खडा गर्ने बताए ।
‘डाक्टरले मात्र क्यान्सर रोग पत्ता लगाउन सक्छ, सामान्य आँखा र सामान्य व्यक्तिले देख्न र पत्ता लगाउन सक्दैन। मैले देखिरहेको छु यी दलले देशलाई पार लगाउँदैनन्,’ नेता भट्टराईले भने, ‘यी दुई पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउँछौं।’
भट्टराईले एमाले र माओवादी केन्द्रको एकताप्रति संकेत गर्दै कम्युनिस्टको पुरानो खोल ओढेकाहरु चक्रपथमा घुमिरहने र कतै नपुग्ने दाबी गरे। उनले सही विचार लिनेहरु कहिलेकाहीँ एक्लै पर्ने उल्लेख गर्दै विचारको पछि नलागेर सत्ताका पछाडि लाग्नेहरु जनतामाझ लामो समय टिक्न नसक्ने ठोकुवा समेत गरे।
‘गौतम बुद्ध पनि ६ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, ५ जनाले छाडेपछि उनी एक्लै भए। आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन्, बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए’, भट्टराईले भने, ‘पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन, तर हामी लोभमा फस्दैनौं।’
उनले छिटो सत्तामा पुगिन्छ भन्ने सोचले पार्टीका केही नेता पलायन भएको आरोप समेत लगाए।
‘आफूलाई क्रान्तिकारी भन्नेहरुले कमिसनखोरसँग भोजभतेर गरेका छन्’, भट्टराईले भने।
फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने पाँच नम्बर प्रदेश संयोजक दानबहादुर चौधरीले उल्लेख गरे।
नयाँ शैलीमा बैठकको उद्घाटन

संघीय परिषद्को चौथो विस्तारित बैठकलाई नयाँ तरिकाले उद्घाटन गरिएको थियो। पार्टीका संयोजक डा भट्टराईले मञ्चको छेउमा राखिएको पिपलको बोटमा जल सिञ्चित गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। उनले पिपलको बोटमा झन्डै दुई मिनेटसम्म पानी हालेका थिए।
बैठकको उद्घाटन गर्दै डा भट्टराईले बुद्धभूमि लुम्बिनीबाट मुलुक र विश्वको हितका लागि नयाँ सन्देश र विचार प्रदान गर्न बैठक आह्वान गरिएको बताए। उनले भने, ‘भगवान् बुद्धले जसरी लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश छर्नुभएको छ, हामीले पनि यहीँबाटै नयाँ विचार स्थापित गरी देशलाई सही निकास दिनेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।