काठमाडौ– ‘मलाई ‘बा’ श्रृखलामा समावेश गर्न नसकेपछि देउसीको तयारी गर्न भनिएको थियो। मैले तयारी समेत गरें। तर, अहिले माथिको आदेश भन्दै समावेश गर्न नसकिने जानकारी पाएको छुु।
यो भनाई हो, शैलेन्द्र सिम्खडाको। प्रत्येक वर्ष तिहारमा सिस्नुपानी नेपालले गर्दै आएको देउसी कार्यक्रममा अन्तिम अवस्थामा आएपछि सहभागी नगराएपछि कवि सिम्खडाले यस्तो तितो पोखेका हुन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले केही दिनअघि भएको 'बा' कार्यक्रममा आफू समावेश नभएकाले तिहारको तयारीमा लाग्न भनिएको थियो।
यमपञ्चक (तिहार)को अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष आयोजना गर्दै आएको व्यङ्ग्यात्मक देउसी कार्यक्रम यस वर्ष पनि प्रज्ञा भवनमा गर्दैै छ।
कार्यक्रममा नेताहरुले सिम्खडाको कविता मन नपराएपछि आफूलाई यस वर्ष नसमेटेको उनको दाबी छ।
‘मलाई अध्यक्ष टंकराज आचार्यले फोन गरेर तपाईंको प्रस्तुति राख्न नसकिने भयो भनी जानकारी गराउनु भयो’, उनले भने, ‘यसअघि उहाँले नै तिहारको तयारी गर्न भन्नुभएको थियो तर यो पटक कार्यक्रमको डिजाइन फरक भएको भनेर मलाई हटाउनुभएछ।’
‘मेरो हास्यव्यङ्ग्य सुन्न नेताहरु नसक्ने र नेताहरु आउन बाधा हुने भनेपछि मैले जबरजस्ती प्रस्तुति दिनुभएन भन्दै ठिकै छ भनें’, सिम्खडाले भने, 'मैले त सभ्य शैलीमा व्यङ्ग्य गरे जस्तो लाग्थ्यो। कसरी सुन्नै नसक्ने भएछ, मलाई नै अचम्ममा छु।’
सिम्खडाका अनुसार सिस्नुपानीले उनले प्रस्तुत गर्ने व्यङ्ग्य उनीसँग मागेको थिएन। व्यङ्ग्य माग्दै नमागी उनलाई हटाइएको उनले बताए।
कसैको दबाबमा होइन, कार्यक्रम नयाँ रुपमा हुँदै छ
सिम्खडाको आरोप सत्य नभएको सिस्नुपानी नेपालका अध्यक्ष टंकराज आचार्यले बताए। यत्रो बर्षसम्म सरकारलाई व्यंग्य गर्दै आएकोमा यो वर्षमात्र डराउनुपर्ने कुनै तर्क नभएको उनले बताए।
उनले कसैको आदेश वा आग्रहको आधारमा नभई कार्यक्रमको मोडलका कारण समावेश हुन नसक्ने जानकारी गराइएको उनले बताए।
‘सिस्नुपानी नेपाल स्वतन्त्र संस्था हो कसैको दबाबमा राख्ने र हटाउने हुदैन', उनले भने, 'शैलेन्द्रजीको यस वर्ष पालो नपरेको मात्र हो।’
उनले तयार गरेको कविता विगतमा पनि भन्दै आएको कविता हो। यसअघिका केही कार्यक्रममा पनि उनले उक्त कविता पस्किँदै आएका थिए। सोही कवितालाई केही थपथाप गर्दै नयाँ बनाउने प्रयास उनले गरेका थिए।
यस्तो थियो शैलेन्द्रको कविता
हे आमा जननी सुपुत्र गतिलो अन्तै तुहायौ कि त
मात्रै संकट जन्मिने कुलतको पैंचो लियौ कोसित
हेर्नुस् कस्तो अचम्म कर तिरेन भने फाइन तिर्नुपर्छ,
तिर्न जाँदा लाइन बस्नुपर्छ
रिक्सावालाले कर तिरेन भनेर कराउने देश
एनसेलसँग कर उठाउन डराउने देश
सोलुमा हिउँ पर्दा तालुमा शीतल हुने देश
गजुरीमा समातेको सुन काठमाडौं ल्याउँदा पित्तल हुने देश
सुन समातेको प्रमाण प्रष्ट पारिने देश
सुन थन्क्याएको प्रमाण नष्ट पारिने देश
सरकारले गुन्डा पालेर जनता लुटेको देश
पैसाको भागबण्डा नमिलेर पार्टी फुटेको देश
विकृतिलाई प्रोत्साहन सिर्जनालाई तिरस्कार
ठूलो रकम खान सानो रकम चमेना
हेर्नुस् कस्तो अचम्मः बन्दुक समात्ने जनता
कोदालो समाउने सेना
यो भन्दा अचम्म के हुन सक्छ यो देशमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।