काठमाडौं- नेपाल तरुण दलले राष्ट्रियसभा सदस्यको मनोनयनमा राष्ट्रपतिबाट गरिएको असंवैधानिक निर्णय तत्काल सच्याउन माग गरेको छ।
कांग्रेसका भ्रातृ संगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज ज्ञापनपत्र बुझाउँदै संविधान मिचेर कुनै काम नगर्न चेतावनी समेत दिएको छ।
संविधान बमोजिम अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ सदस्यको मनोनयनको सिफारिसलाई बेवास्ता गर्दै राष्ट्रपति भण्डारीले असंवैधानिक रुपमा सक्रिय हुन खोजेको भन्दै तरुण दलले निन्दा गरेको छ।
तरुण दल अध्यक्ष जितजंग बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ, 'संविधानको रक्षकले नै एउटा राजनीतिक पार्टीको सानो अँध्यारो घेराभित्र बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन माग गर्छ।'
राष्ट्रपतिले संविधानको मर्म विपरीत गरिएका यस्तो गतिविधि नसच्याए जुनसुकै कदम पनि उठाउन बाध्य हुने उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।