ललितपुर- निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ।
सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थान लगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए।
'हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन्,' उनले भने,'सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो।' चिनियाँ कम्पनी संघाई निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको छ।
मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुईदुई लेनको सहायक लेन र त्यो बाहिर एकएक लेनको सर्भिस ट्र्याक बन्दैछ। सर्भिस ट्र्याक हुँदै सवारीसाधन सहायक लेनमा छिर्न सक्छन्।
घरटहराका कारण यस क्षेत्रमा सर्भिस ट्र्याकको काम अवरुद्ध भएको हो। यससँगै पाइप लाइन, विद्युतका पोल लगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ।
सडकमा बिछ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्ने गरेको छ।
सडकको जम्मा लागत रु एक अर्ब रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।