नेपित- म्यानमारकी विदेशमन्त्री एवं यहाँकी राज्य सल्लाहकार आङ सान सू चीले रोहिंग्या समुदायको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गरेकी छिन्।
रोहिंग्या संकटलाई लिएर अन्तर्राष्ट्रिय समुदायले कडा रुपमा निगरानी गरिरहेको भन्ने भनाइको जवाफ दिँदै उनले यसबाट आफूलाई कुनै आपत्ति नहुने बताइन्।
अहिलेसम्म म्यानमारबाट उक्त देशका ४ लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बंगलादेश पुग्न बाध्य भएका छन्। उक्त हिंसाबारे पहिलो पटक उनले राष्ट्रका नाममा सम्बोधन गर्दै सो धारणा राखेकी हुन्।
उनले अधिकांश मुस्लिमहरुले देश नछाडेको र अगस्ट २५ देखि सुरु भएको हिंसा अहिले भने रोकिएको दाबी गरिन्।
देश छाडेर भाग्नेहरुसँग उनीहरुले त्यसो गर्नुपर्नाको कारण खोजी गर्ने र त्यसका लागि सरकारले अब अनुसन्धानको प्रक्रिया थाल्ने उनको भनाइ छ।
यो पनि: आङ साङ सू चीलाई राष्ट्रसंघीय महासभामा सहभागी हुन दबाब
म्यानमारको सेनाद्वारा उक्त समुदायविरुद्ध भएका दमनबारे भने उनले कुरै गरिनन्। म्यानमारको सेनाले गरेको रोहिंग्यामाथिको धरपकड बारे जवाफ दिन विश्व समुदायबाट उनीमाथि दबाब पर्दै आएको छ।
संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उक्त जातिमाथिको मानवाअधिकार हननको अवस्था रोक्न र देश छोडेर भागेकाहरुलाई घर फर्किने वातावरण निर्माण गर्न म्यानमार सरकारलाई आग्रह गर्दै आएका छन्।
उक्त समुदायबारे नबोलेको र बचाउ पनि नगरेको भन्दै उनको कडा आलोचना भएको छ। उनले पाएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज समेत म्यानमारभित्र र बाहिरबाट उठ्दै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।