राजविराज- सप्तरीको छिन्नमस्तास्थित दशगजा क्षेत्रबाट प्रहरीले गएराति लोड गरिराखेको सिक्सर पेस्तोल बरामद गरेको छ।
छिन्नमस्ता गाउँपालिका-२ स्थित मोहनपुरबाट सशस्त्र प्रहरी बल छिन्नमस्ताको टोलीले 'इन्डिया मेड सिक्सर' पेस्तोल बरामद गरेको हो।
नेपालबाट भारततर्फ छिर्न लागेको मोटरसाइकल अचानक लडेपछि उद्धारका लागि जाँदा मोटरसाइकलमा रहेको पेस्तोल बरामद भएको इन्स्पेक्टर नवीन बुढाथोकीले बताए। ‘मोटरसाइकल लडेपछि हामी उद्धार गर्न गयौं,’ उनले भने, ‘तर, हामी पुग्दा चालक फरार भए।’
घटनास्थल दशगजाबाट ५ सय मिटरको दूरीमा पर्छ। मोटरसाइकल उठाएर हेर्दा पछाडि लोड गरिएको बोरामा २८ थान कस्तुरी मदिरा र त्यसको बीचमा लुकाई राखेको पेस्तोल बरामद भएको बुढाथोकीले जानकारी दिए।
पेस्तोलमा दुई थान गोली लोड रहेको प्रहरीको भनाइ छ।
पेस्तोल र मदिरा फेला परेपछि संलग्न वयक्तिलाई खोजतलास गरे पनि सिमा पार गरेर भारत प्रवेश गरेकाले पक्राउ गर्न नसकिएको बुढाथोकीले बताए। नम्बर प्लेट नभएको थोत्रो मोटरसाइकल, मदिरा तथा पेस्तोल बोकेका आधारमा संलग्न व्यक्ति मदिरा तस्कर हुनसक्ने उनको भनाइ छ।
बरामद पेस्तोल, गोली र मोटरसाइकल सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।