रत्ननगर, चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा एमालेसँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताएका छन्।
भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गरे।
यही विद्यालयमा आफूले फुटबल प्रतियोगिता खेलेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त स्थानमा भावनात्मक सम्बन्ध जोडिएको बताए।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका दाहालले भरतपुर–जगतपुर तथा भरतपुर–मेघौली सडक कालोपत्रे हुने आश्वासन दिए। उनले निकुञ्ज आसपास क्षेत्रका जनतालाई जंगली जनावरले सास्ती दिएको भन्दै तत्कालै तारजालीको काम अघि बढ्ने बताए।
सो अवसरमा अध्यक्ष दाहालले विद्यालयका पूर्वविद्यार्थीलाई सम्मान गरेका थिए।
यसैबीच आजै अपराह्न चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आजदेखि शुरु भएको ‘विकास रनिङ शिल्ड फुटबल’ प्रतियोगिताको समेत उनले उद्घाटन गरे। सो क्रममा उनले नारायणगढको क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ बनाउन पहल गर्ने बताए।
आजको उद्घाटन खेलमा फ्रेण्डस् क्लब ललितपुरले विजयी शुरुआत गरेको छ । उसले विजय युथ क्लब हेटौडालाई १–० अन्तरले पछि पारेको हो । उक्त खेलको विजेताले रु पाँच लाख पुरस्कार पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।