राजविराज– राजपा नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सांसद विदेश्वरप्रसाद यादव (बिक्की)ले व्यावहारिक रुपमा पार्टी एक नहुँदा मन्त्रीको छनोटमा ढिलाइ भएको बताएका छन्।
मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा यादवले मन्त्रीका लागि आकांक्षी बढी हुनुका साथै ६ जना अध्यक्षको समझदारी जुटाउनुपर्ने भएकाले सरकार गठनमा ढिलाइ भएको जिकिर गरे।
‘व्यावहारिक रुपमा अहिले पनि पार्टीमा ६ वटा समूह छ’, उनले भने, ‘६ प्रकारको मानसिकता भएका व्यक्तिहरुबीच सहमति जुटाउन र व्यवस्थित रुपमा एउटै पार्टी सञ्चालन गर्न समय लाग्छ।’
समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी नरमाया ढकालको विषयमा प्रस्टीकरण दिँदै नेता यादवले उक्त विषय पार्टीको संवैधानिक बाध्यता भएको भन्दै निर्णयको बचाउ गरे। राजपाले समानुपातिकतर्फ पठाएका ६ वटा नाममध्ये ढकालको नाम सबैभन्दा बढी आलोचित छ।
खस आर्य कलस्टरबाट प्रतिनिधि बनाउनैपर्ने संवैधानिक बाध्यताका कारण ढकालको नाम सिफारिस भएको उनले बताए।
पार्टीभित्र योगदान नै नरहेका व्यक्तिलाई सांसद बनाएको र इमानदार कार्यकर्तालाई पाखा लगाएको भन्दै असन्तुष्टि बढेकोप्रति संकेत गर्दै नेता यादवले केही व्यक्तिहरु अन्यायमा परेको पनि स्विकारे।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित यादवले ५ वर्षको अवधिमा सडक, स्वास्थ्य, शिक्षा र सिंचाइका समस्या समाधानका लागि काम गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।