काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता-कार्यकर्ता पक्राउ परेका छन्।
प्रहरी प्रवक्ता मनोज नेउपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए। उनले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रस्त पार्न बन्दकर्ताले विभिन्न स्थानमा नक्कली बम राखेको पाइएको बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिए।
सिंहदरबार आसपासको क्षेत्रबाट तीन र गौशालाबाट एक जना पक्राउ गरेको उनले बताए। राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिन झैं सामान्य दैनिकी चलेको उनको भनाइ छ।
यसैबीच, नेकपाका महासचिव चन्दले मंगलबार विज्ञप्ति जारी गर्दै देशभरबाट सयौं नेता तथा कार्यकर्ता पक्राउ गरिएको उल्लेख छ। पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव चन्दले आग्रह गरेका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।