सोकी- रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्तायता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार सहमति गरेका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानबीच सोकीमा भएको छलफलपछि उक्त सहमति भएको हो। सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्नेगरी टर्की र रुसले नयाँ सहमति गरेका हुन्। सहमतिलाई दुवै मुलुकले ‘ऐतिहासिक’ भनेका छन्।
क्रेमलिनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै भनेको छ, 'सहमति बुधबार दिउँसो १२ बजेदेखि नै कार्यान्वयनमा आउनेछ।'
'सहमतिअनुसार मस्को र अङ्काराले रूसी तथा सिरियाली सैन्य बललाई टर्कीले कुर्दहरूलाई निशाना बनाइ हालै गरिएका आक्रमणस्थल क्षेत्रमा तैनाथ गर्नेछन् भने टर्कीले सिरियाली कुर्दलक्षित कारबाहीलाई रोक्नेछ। यस्तै, सिरियाली कुर्दहरूलाई सिरिया-टर्कीको सीमा क्षेत्रबाट ३० किलोमिटर टाढा राखिनेछ। उनीहरूलाई यसका लागि १ सय ५० घन्टा समय दिइनेछ।'
टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो। रुसले सिरियाका राष्ट्रपति बशर अल-असदलाई सहयोग पुर्याउँदै आएको छ। उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो।
झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको हो। विश्लेषकहरूले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आँकलन गरेका छन्।
उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुनः कारबाही गर्नु नपर्ने बताएको छ। यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै ५ दिनका लागि आक्रमण रोकेको थियो।
टर्कीले सिरियाका दुई सहरबीच १ सय २० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ। त्यसलाई ‘सुरक्षित क्षेत्र’ बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ।
यद्यपि नयाँ सहमतिबारे कुर्द पक्षले कुनै प्रतिक्रिया जनाइसकेको छैन। तर, सिरियाका राष्ट्रपति असदले रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएको क्रेमलिनले जनाएको छ। रूसका अनुसार असदले भने रुसले गरेको सहमतिप्रति पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिइसकेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।