काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रियसभा सदस्यको मनोनयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको आरोप लगाएको छ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले नियतवश रोकेर वाम गठबन्धनको सरकारको सहकार्यमा असंवैधानिक कदम चालेको बताएको छ।
राष्ट्रपतिको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेविसंघले सरकारको सिफारिस अनुमोदन नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्था उल्लंघन गरेको आरोप लगाएको छ।
नेविसंघका अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्टहरु प्रजातन्त्रमा विश्वास गर्दैनन् र कानुनी राज्य उनीहरुको सीमामा पर्दैन भन्ने वाम गठबन्धन सरकारका सुरुवाती निर्णयहरुबाटै देखिन थालेको छ। सरकारले गरेको असंवैधानिक सिफारिस तत्काल फिर्ता लिन चेतावनीका साथ आग्रह गर्दछौं।’

नेविसंघले असंवैधानिक सिफारिस तत्काल फिर्ता नलिए देशभर आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएको छ।
यसअघि कांग्रेसले मंगलबारै सानेपामा पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभा सदस्यको सिफारिस मनोनयन प्रकरणमा राष्ट्रपति भण्डारीले गरिमामय पदलाई विवादित बनाएको भन्दै कडा आपत्ति प्रकट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।