नयाँ दिल्ली- विश्वकै ठूलो दुईपाङ्ग्रे सवारी साधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुवै घटेको बुधबार सार्वजनिक कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ। अघिल्लो वर्ष करिब ९ हजार करोड भारतीय रुपैयाँ आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५ सय ७० हजार करोड भारु मात्र भएको छ।
कम्पनीको नाफामा पनि निकै असर परेको वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो वर्ष १ हजार ४ सय ४८ हजार करोड भारु नाफा रहेकामा यस वर्ष १ हजार करोड भारुमा सीमित भएको छ।
कम्पनीका प्रमुख वित्तीय अधिकृत निरन्जन गुप्ताले दिपावली समेतका चाडपर्वका कारण नयाँ मोडेलका मोटरसाइकल र स्कुटरको बिक्री बढेकाले कम्पनीको वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे।
हिरो मोटोकर्पले यसै वर्ष पाँच किसिमका नयाँ उत्पादनहरु बजारमा ल्याएको छ, जसमा तीन किसिमका नयाँ डिजाइनका मोटरसाइकल र दुई किसिमका स्कुटर छन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।