श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

नेपाल लाइभ | २०७६ कार्तिक ७ बिहीबार | Thursday, October 24, 2019 ०६:४७:०० मा प्रकाशित

कोलम्बो- श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ।

देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गरेका छन्।

श्रीलङ्कामा आउँदो नोभेम्बर १६ मा राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। राष्ट्रपति सिरिसेनाले अघिल्लो हप्ता पनि उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गरी राष्ट्रपतिका उम्मेदवारहरुको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिएका थिए।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचनमा झन्डै एक करोड साठी लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ।

उम्मेदवारहरुमध्ये सत्तारुढ दल युनाइटेड नेसनल फ्रन्टका सजिथ प्रेमदासा र प्रमुख प्रतिपक्षी दलका गोताबाया राजापाक्षेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। राजापाक्षे पूर्व रक्षासचिव तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेका भाइ हुन्।

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले नोभेम्बर १६ मा मतदान भई नोभेम्बर १८ मा मतपरिणाम घोषणा हुने जानकारी दिएका छन्। रासस/सिन्ह्वा/फाइल तस्बिर-युएसएआइडी