कपिलवस्तु– गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नम्बरको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक एक समूहद्वारा पेट्रोल बम प्रहार गर्दा बसमा सवार १२ जना घाइते भएका हुन्। नेत्र बिक्रम चन्दको नेकपा पार्टीका कार्यकर्ताले बम हानेको आशंका गरिएको छ। उनीहरुले मंगलबार बन्दको आह्वान गरेका थिए।
घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए। बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केेको प्रहरीले जनाएको छ । बम हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।