चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले गठन गरेको कार्यदलको प्रतिवेदनपछि औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए।
‘हामीले हिजो दुई वटा कार्यदल बनाएको छौं। यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ,’ दाहालले भने, ‘त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउँछौं।’
नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिक रुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए।
‘सैद्धान्तिक र व्यावहारिक किसिमले हामी एकै कम्युनिस्ट पार्टी भइसक्यौं। तर कानुनी रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै नयाँ पार्टी हुन्छौं,’ दाहालले भने।
अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुवै पार्टीका अध्यक्ष सह–अध्यक्षका रुपमा रहने बताउँदै उनले बैठकको अध्यक्षता आलोपालो गरिने गरी नयाँ पार्टीमा दुवै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षरसमेत रहने उल्लेख छ।
पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्ने बताउँदै उनले देशमा स्थायित्व, समृद्धि र सुशासनका लागि एकताले ठूलो धरातल तयार पारेको दाबी गरे।
‘हामीले निर्वाचनअघि जनतासँग चुनावपछि पार्टी एकता हुनेछ, देशमा राजनीतिक स्थायित्वका लागि सम्पूर्ण तागत लगाइनेछ र आर्थिक विकास र समृद्धिमा ध्यान केन्द्रित गरिनेछ भनेर प्रतिबद्धता र संकल्प गरेका थियौं,' उनले भने, ‘यो ऐतिहासिक परिघटना र नेपाल राष्ट्रका लागि दूरगामी परिघटना हो। यसले २०१९ सालदेखि टुटफुट हुँदै आएको कम्युनिस्ट आन्दोलनमा गुणात्मक फड्को मारेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।