नयाँ दिल्ली- भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राती भएको विष्फोटमा परी चुनावी अभियानमा रहेका एक जना राजनीतिज्ञसहित ४ जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ।
विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको मृत्यु भएको हो। उनी निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि गएका थिए।
मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ। उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न निजी कारमा यात्रा गरिरहेका थिए। उक्त क्षेत्र चीन, भुटान, नेपाल, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो।
मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ।
मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताए।
उनले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्बल्याउने दावी गर्दै विष्फोटमा सम्लग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमा लेखेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।