यांगुन- म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सू चीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दबाब आएको छ। यसअघि उनले उक्त महासभामा सहभागी नहुने बताइकी थिइन्।
उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानमार सरकारले गत हप्ता जनाएको थियो।
म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिंग्या समुदायका नागरिकमाथि भएको हिंसाका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ। जसका कारण उनले उक्त भ्रमण नै रद्द गरेको बताइएको थियो।
म्यानमारको रोहिंग्या मुस्लिम समुदायका झन्डै ४ लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतीको विषयमा व्यापक विवाद सुरु भएको छ।
म्यानमार सरकारले भने उनीहरुलाई देश छोड्न बाध्य पार्ने काम सरकारले नगरेको र यहाँका आतङ्ककारीविरुद्ध सेनाको कारबाही मात्र गरेको स्पष्ट गर्दै आएको छ। यस विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पनि छलफल हुने भएको छ। उक्त विवादले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सू चीलाई पनि विवादमा तानेको छ।
राखिन राज्यमा रोहिंग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण गएको २५ अगस्टदेखि उनीहरु देशभित्र र बाहिर विस्थापित भएका हुन्।
सू चीले रोहिंग्या समुदायका नागरिकमाथि सरकारले ज्यादती गरेको भनी दुष्प्रचार मात्र गरिएको बताउँदै आएकी छिन्।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले पनि उनीहरुमाथि भएको मानवअधिकार हननको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त आयोगका प्रमुख जियाद राद अल हुसेनले म्यानमारको उक्त समुदायमाथिको ज्यादती नियोजित भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।