काठमाडौं– पाँच महिनाको गृहकार्यपछि अन्तत: नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ८ बजेदेखि करिब तीन घन्टा चलेको दुवै दलका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठकमा ७ बुँदे सहमति भएको छ।

'एकीकरणका प्रारम्भिक आधारहरु' भन्दै गरिएको लिखित सहमतिमा पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' राख्ने, पार्टीको निर्देशक सिद्धान्त 'मार्क्सवाद-लेनिनवाद' रहने उल्लेख छ।
ती आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमतिमा उल्लेख गरिएको छ।
सहमतिमा बैठकमा सहभागी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतम तथा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको हस्ताक्षर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।