माले- मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार संसद्लाई देशमा जारी संकटकालको अवधि लम्ब्याउन आग्रह गरेका छन्।
मालदिभ्समा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन्। मालदिभ्स्मा गत फेब्रुअरी ५ देखि लागू गरिएको संकटकालको अवधि सोमबार सकिएसँगै राष्ट्रपतिले लम्ब्याउन आग्रह गरेका हुन्।
फेब्रुअरी १ मा त्यहाँको सर्वोच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएको थियो। उक्त फैसलाको कार्यान्वयन गर्दा पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने भएको थियो। तर राष्ट्रपति यामिनले उनीहरुलाई रिहा गर्न नचाहेकाले अदालत, संसद् र सरकारबीच विवाद उत्पन्न भएको हो।
अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीलाई रिहा गर्नुपर्ने भएपछि उनले सो आदेश कार्यान्वयन नगर्न भन्दै प्रधानन्यायाधीशलाई पक्राउ समेत गर्न लगाएका थिए।
मालदिभ्स्मा उत्पन्न राजनीतिक संकटका कारण यहाँ हाल सैनिक परिचालन गरिएको छ।
राष्ट्रपतिले आफूमाथि संसदमा महाअभियोग लाग्न सक्ने सम्भावना जीवितै रहेको अवस्था देखेकाले त्यहाँ संकटकालको घोषणा गरेका हुन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।